23/05/2026
राष्ट्रिय स्वतन्त्र पार्टी बारा जिल्लाको विस्तारित बैठकमा तनाव उत्पन्न भएको छ। कलैयामा आज बसेको बैठकमा विवाद चर्किएपछि केही प्रतिनिधिसभा सदस्यलाई कार्यकर्ताहरूले हात हाल्दै बैठकस्थलबाट बाहिर निकालेका हुन्।
बैठकमा बारा जिल्लाका प्रतिनिधिसभा सदस्य रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल र चन्दन सिंह सहभागी थिए। बैठकमा सहभागी नेताहरूका अनुसार उनीहरूले संस्थापक पक्षलाई दबाबमा पार्न खोजेको आरोपपछि विवाद बढेको थियो।
त्यसपछि बैठकस्थलमा उपस्थित आक्रोशित कार्यकर्ताहरूले उनीहरूलाई धक्का दिँदै बाहिर निकालेका थिए। अवस्था नियन्त्रणबाहिर जानसक्ने देखिएपछि प्रहरी परिचालन भएको थियो।
प्रहरीले हस्तक्षेप गर्दै सांसदहरूलाई सुरक्षित रूपमा बैठकस्थलबाट बाहिर लगेको बताइएको छ। घटनापछि रास्वपा बाराको आन्तरिक विवाद थप सतहमा आएको छ।
रास्वपा बाराका संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको सदस्यता केही दिनअघि खारेज गरिएको थियो। सो निर्णयपछि जिल्लाभित्र असन्तुष्टि बढ्दै गएको थियो।
स्वर्णकारको सदस्यता खारेजीलाई लिएर संस्थापक पक्ष असन्तुष्ट रहेको र पछिल्लो बैठकमा त्यही असन्तुष्टि खुलेर देखिएको स्थानीय नेता–कार्यकर्ताहरूको भनाइ छ।